Showing posts with label चित्रमा स्वास्थ्य. Show all posts
Showing posts with label चित्रमा स्वास्थ्य. Show all posts

Tuesday, January 24, 2012

मधुमेह रोगीले के खान हुन्छ, खानु हुदैंन?


धुमेह रोगीहरुले यो खान नहुने, त्यो खान नहुने, यो बार्नुपर्ने, त्यो बार्नुपर्ने भनेर भनिन्छ। विकसित देशहरुमा डायटिसियनसँग छलफल गरेर खानाको बारेमा राम्रो जानकारी लिएर त्यसै अनुसार गर्ने गर्छन्। हाम्रो देशमा त्यो अलि सम्भव हुदैंन। चिनीरोगीको खाना भनेको एक छाक सुख्खा रोटी, एक छाक उसिनेको चामलको भात, चिनी नहालेको चिया यस्तैयस्तै हुन्छ। गुलियो कुरा केही नि खानु हुदैंन, माटोमुनि फल्ने आलु, पिडालु खानुहुदैंन भन्ने गरिन्छ। आज मधुमेहका रोगीले के खान हुने, के नहुने बारे चित्रहरुका मार्फत केही जानकारी दिने प्रयास गर्दैछु।

वास्तवमा भन्ने हो भने मधुमेहका रोगीले (र सकेसम्म सबैले पनि)खानुपर्ने खाना भनेको 'सन्तुलित खाना/Balanced Diet' नै हो। चित्रमा देखाएको खानाहरुको समिश्रणलाई 'प्लेट मोडल' भनिन्छ अर्थात् सम्पूर्ण खानालाई एउटा प्लेट मानेर त्यसको कति भाग के खाने भनेर बाडिएको मोडल। जस्तो माथिको चित्रमा एक छाकको खाना/एक प्लेटलाई बराबर तीन भागमा बाँडिएको छ। एक भागमा कार्बोहाइड्रेट, दोस्रोमा भिटामीन र खनिज पदार्थ र तेस्रो भागमा प्रोटिन र चिल्लो पदार्थ राखिएका छन्। चित्रमा कार्बोहाइड्रेट, भिटामीन, खनिज, प्रोटिन, चिल्लो पदार्थ पाउने खानाहरु पनि देखाइएका छन्। त्यसैले मधुमेह रोगीहरुले पनि सबै खालका खानाहरु खान हुन्छ तर सन्तुलित रुपमा खानुपर्ने हुन्छ। सामान्य अवस्थामा खाना सन्तुलित नभए पनि तत्कालै खासै फरक पर्दैन तर मधुमेह रोग लागेपछि भने खाना सन्तुलित हुनु अति जरुरी हुनजान्छ, जुन गर्न अलि गाह्रैं हुन्छ। त्यसैले प्राय: चिकित्सकहरुले सजिलोको लागि गुलियो पदार्थ, चामलको भात नखानु भन्छन्, तर ती खानै नहुने भने पक्कै होइन।

शरीरमा चिनीको मात्रा नियन्त्रित राख्नु अति जरुरी हुन्छ। सामान्य अवस्थामा यो काम इन्सुलिन र अन्य हर्मोनहरुले आफैं गरिरहेका हुन्छन्। तर मधुमेह भएपछि त्यो सम्भव हुदैंन र रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने जटिल काम विरामी आफैंले परिवार, चिकित्सक र औषधीहरुको सहयोगमा गर्नुपर्ने हुन आउँछ। चिनीको मात्रा नियन्त्रित राख्न सकिएमा मधुमेहका खराब असरहरुलाई धेरै कम गर्न र पछाडी सार्न सकिन्छ।

मधुमेहमा पोषण सम्बन्धी पालना गर्नुपर्ने केही महत्वपूर्ण बुँदाहरु चित्रमा दिइएका छन्। माथि भनिए जस्तै यी कुराहरु मधुमेह रोगीका लागि मात्र नभएर सबैजनाले अपनाउनु सबैभन्दा उत्तम हुन्छ। त्यस्तै घरमा मधुमेह रोगीका लागि भनेर छुट्टै प्रकारको खाना बनाएर छुट्याउनु पनि हुदैंन। बरु घरका सबैजनाले सन्तुलित खाना खानु उचित हुन्छ।

कार्बोहाइड्रेट खानामा हुने शक्तिको प्रमुख स्रोत हो। त्यसैले यो अति जरुरी हुन्छ। दिनभरी चाहिने जम्मा क्यालोरी शक्तिको ५० देखि ६०% कार्बोहाइड्रेटबाट लिनुपर्छ। त्यसमा खस्रोपना भएका खानाहरु/Fibre Dietsको बढी मात्रामा प्रयोग गर्नुपर्छ, त्यो भन्नाले उसिना चामल, मिलमा नपिनीएको चामल, ब्राउन राइस, मकैको पिठो, गहुँको पिठो आदी पर्छन्।

माछामासु, अण्डा, दूधदही पनि खान नहुने भन्ने होइन। यिनमा प्रोटिनको मात्रा प्रशस्त हुन्छ र शरीरको वृद्धिविकास, मर्मतसम्भारको लागि यो आवश्यक हुन्छ। त्यसैले चिल्लो कम भएका प्रोटिनयुक्त खानाहरु आवश्यक मात्रामा खान जरुरी हुन्छ। मधुमेहका कारणले मृगौलामा समस्या देखापरेमा भने चिकित्सकको सल्लाहमा प्रोटिनयुक्त खानाको मात्रा घटाउनुपर्ने हुनसक्छ।

भिटामीन, खनिज पदार्थ भएका हरियो सागसब्जी, फलफूलहरु पनि आवश्यक मात्रामा सेवन गर्नुपर्छ। रेशादार खानाहरुले खानापछि रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न, रगतमा बोसो कोलेष्टेरोलको मात्रा नियन्त्रणमा राख्न, कब्जियतको समस्या कम गर्न, रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्ने गर्छ।

चिल्लो पदार्थ पनि हाम्रो शरीरका लागि आवश्यक हुन्छ। तसर्थ यो पनि प्रयोग गर्नुपर्ने हुन्छ तर आवश्यक मात्रामा मात्र र स्वर्थवर्धक तेलको प्रयोग गर्नुपर्छ। के हो त स्वस्थवर्धक तेल भनेको? मुटुको लागि राम्रो मानिने बोसो HDL/एचडिएलको मात्रा बढाउने र हानिकारक बोसो(LDL)लाई घटाउने खालका तेलहरु (जस्तै चित्रमा हरियो बक्समा देखाइएका तेलहरु)लाई स्वस्थवर्धक तेल भनिन्छ। कुन तेल स्वस्थवर्धक हो र कुन होइन भनेर सजिलै थाहा पाउन- जुन तेल सामान्य तापक्रममा तरल हुन्छ, ती सामान्य तापक्रममा जम्ने तेल वा घ्युभन्दा स्वस्थवर्धक हुन्छन्। रातो बक्समा भएका तेल, घ्युहरु स्वास्थ्यका लागि हानिकारक हुन्, तिनीहरुको सेवन सकेसम्म कम गर्नुपर्छ। त्यस्तै ओमेगा-3 बोसो भएको माछाको सेवन पनि स्वास्थ्यको लागि राम्रो मानिन्छ।

माथिका खानाहरुको साथसाथै पानी पनि प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। दिनभरमा कम्तिमा ६ देखि ८ गिलास पानी सेवन गर्ने गर्नुपर्छ।

अन्त्यमा,

मधुमेहका रोगीले खान नहुने र अन्य सबैजनाले पनि सकेसम्म कम खानुपर्ने केही खानेकुराहरु र भोक लागेमा थप खान सकिने खानाहरु:
खाना सम्बन्धी उचित ज्ञान लिइ आफ्नो जीवन सहज, सरल र सुखद बनाऔं।   
बाँकी पढ्नुहोस् >>

Thursday, December 29, 2011

मधुमेह र खुट्टाको हेरविचार/ Diabetic Foot Prevention


धुमेह एउटा दीर्घरोग हो र लामो समयमा यसले शरीरका विभिन्न अंगहरुमा खराब असर पार्छ। ती मध्ये डायवेटिक फुट/Diabetic Foot अर्थात् मधुमेह रोगमा देखिने खुट्टामा हुने घाउ र त्यसका कारणले औंला खुट्टा नै काट्नुपर्ने समस्या पनि एउटा हो।

चित्रमा भनिएका आधारमा नै अनुमान लगाउन सकिन्छ कि समस्या कति भयानक छ भनेर। तर उचित स्वास्थ्य उपचार सावधानीका उपाय र हेरविचारले यो समस्या ८५% सम्म कम गर्न सकिन्छ।

सबैभन्दा पहिले यस्तो समस्या किन आउँछ त्यो बारे केही बुझौं।

मधुमेहका कारणले पर्ने विभिन्न समस्याहरुमा शरीरका स्नायुहरुमा पर्ने खराब असर (डायवेटिक न्युरोप्याथी/Diabetic Neuropathy), सानाठुला रगतका नलीहरुमा पर्ने खराब असर (माइक्रो-म्याक्रो भास्कुलर कम्लिकेसन/Micro-macro vascular complications)हरु पनि पर्दछन्। यी असरहरु विशेष गरी शरीरमा लामो समयसम्म ग्लुकोजको मात्रा आवश्यकताभन्दा बढि भइरहेमा विस्तारै देखिन थाल्छन्। स्नायु/नसाहरुमा परेको असरका कारणले मधुमेहका विरामीका खुट्टाहरुमा दुखाइ, तातोचिसो थाहा पाउने शक्ति विस्तारै घट्दै जान्छ। जसका कारणले राम्रोसँग हेरविचार नगरेमा खुट्टामा घाउ हुनजाने सम्भावना बढेर जान्छ। त्यस्तै रक्तनलीहरुमा पर्ने असरका कारणले ती भागहरुमा राम्रो रक्तसंचार हुन पाउँदैन र घाउ राम्रोसँग ठिक नहुने, बढेर जाने र औंलाहरु मरेर जाने पनि हुन्छ।


चित्रमा देखाए जस्तै मधुमेहमा खुट्टामा रक्तसंचारमा कमि आई त्यसको रंग परिवर्तन हुँदैजाने, औंलाका कापहरु(जुन प्राय: राम्ररी सफा गरिदैंन)मा संक्रमण हुने, घाउ हुने, खुट्टाका औंलाहरु क्रमश: बांगो हुँदैजाने, घाउहरु बढ्दै गएर मरेर जाने, कालो हुने (ग्यांगरिन/Gangrene बन्ने) आदी समस्याहरु देखिन जान्छ। जसको समयमा उपचार नगरे संक्रमण शरीरभरी फैलेर विरामीको मृत्यु पनि हुनसक्छ। साथै उपचारका क्रममा खुट्टा वा खुट्टाका औंलाहरु काट्नुपर्ने हुनजान्छ।

मधुमेह रोगीहरुमा खुट्टाका यस्ता समस्याहरुबाट बच्नका लागि के गर्न सकिन्छ त? 

पहिलो कुरा त खुट्टाको हेरविचार नै हो। आफ्नो अनुहारको जस्तै खुट्टाको पनि हेरविचार गर्नुपर्छ। हरेक दिन सुत्नुभन्दा अघि खुट्टाको सरसफाइ गर्नुका साथै राम्रोसँग सुख्खा पनि राख्नुपर्छ। धेरै सुख्खा खालको छाला छ भने हल्का भ्यासलिन लगाएर छाला नरम राख्नु राम्रो हुन्छ। त्यस्तै नंग काट्दा भित्रसम्म छोटो गरेर काट्नु हुदैंन।


त्यस्तै नांगो खुट्टा कहिल्यै हिड्नु हुदैंन। हिटर, आगोमा खुट्टा सेक्नु हुदैंन।


राम्रोसँग जाँच गरेर मात्र जुत्ता लगाउने गर्नुपर्छ। जुत्ताभित्र पहिले हात छिराएर राम्रोसँग जाँचेर मात्र आफ्नो खुट्टा छिराउने गर्नुपर्छ। आफ्नो खुट्टाको नाप अनुसारको जुत्ता लगाउनुपर्छ।

नियमितरुपमा व्यायाम गर्ने गर्नुपर्छ, जसले गर्दा खुट्टामा रक्तसंचार राम्रोसँग भएर डायबेटिक फुट हुने सम्भावना कम रहन्छ।


कुनैपनि कस्सिने वस्तुहरु खुट्टा वा खुट्टाका औंलामा नलाऔं।


खुट्टामा देखिएको समस्याका आधारमा चिकित्सकलाई कतिकति समयमा देखाउनुपर्छ भन्ने जानकारी तलको चित्रमा दिइएको छ। 


र अन्त्यमा, 



धुम्रपानले शरीरका रक्तनलीहरुलाई पनि खराब असर पार्ने भएकोले डायबेटिक फुटको समस्यालाई धेरै गुणाले बढाउने गर्छ। त्यसैले धुम्रपान त्याँगौं र बेलाबेलामा चिकित्सकको सल्लाह लिन नहिच्किचाउँ।


बाँकी पढ्नुहोस् >>

Tuesday, November 22, 2011

मधुमेह सम्बन्धी जानकारी - बाँकी अंश

धुमेहका लक्षणहरु के-के होला भनेर कसैलाई पनि सोध्दा बढि भोक लाग्ने, बढि प्यास लाग्ने, बढि पिसाब लाग्ने भन्ने उत्तर पाइन्छ। तर ती भनेका पछिका वा रोगले बढि नै असर गरिसकेपछिका लक्षणहरु हुन्। त्यसैले रोगलाई पहिले नै समाएर त्यसका जटिलताहरुबाट आफूलाई बचाउनका लागि यसका सुरुका लक्षणहरु थाहा पाउनुपर्ने हुन्छ। अन्य दिर्घरोगहरुमा जस्तै यसमा पनि शुरुमा केहि पनि लक्षणहरु नदेखिन सक्छ। त्यस्तो बेलामा अघिल्लो पोष्टरमा भनिएका मध्ये मधुमेह हुनसक्ने सम्भावना भएका कुनै अवस्था वा समस्या भएमा आफूलाई मधुमेह भए नभएको जाँच गर्नुपर्छ।


के मधुमेह निको पार्न सकिन्छ त?
सकिदैंन। उचित रेखदेख र उपचारबाट यसलाई नियन्त्रणमा मात्र राख्न सकिन्छ र एक पटक यो रोग लागिसकेपछि हाम्रो प्रयास पनि यसलाई नियन्त्रणमा राखेर यसका कारणले अन्य अंगहरुमा जटिलता नआओस् भन्ने नै हुन्छ न कि चमत्कारिक रुपमा यसलाई ठिक पार्ने, जुन सम्भव पनि छैन र यसका विरामी र सामान्य व्यक्तिहरुले पनि यो बुझ्नु अति जरुरी छ।


त्यसोभने यस्तो महामारीको रुपमा फैलिदै गरेको दीर्घरोगबाट बच्ने कुनै उपाय छैन त? त्यसो होइन। यदी तपाईं मधुमेह हुनसक्ने सम्भावित सूचीमा पर्नुहुन्छ भने तल दिइएका उपायहरु अपनाएर यो रोग लाग्ने सम्भावनालाई धेरै कम गर्न सक्नुहुन्छ। यसमा पेटको गोलाई (नाइटोको वरीपरिको)/Abdominal Girth अति महत्वपूर्ण हुन्छ। यसको नाप पुरुषहरुमा ९० सेमी भन्दा कम र महिलाहरुमा ८० सेमी भन्दा कम राख्नुपर्छ। यी उपायहरु स्वस्थ जीवन शैलीका तरिकाहरु हुन्, जुन रोग लागेपछि वा रोग लाग्ने सम्भावना देखिएका व्यक्तिहरुले मात्र नभई सबैले अपनाउनु फाइदाजनक हुन्छ।


मधुमेह नियन्त्रणका उपलब्ध विधिहरु निम्न हुन्। ध्यान दिनुहोस्- औषधी र इन्सुलिन यसको पाचौं नम्बरमा परेको छ र पहिले नम्बरमा शिक्षा र ज्ञान छ। मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोगहरुमा रोग लागेर उपचार गर्नुभन्दा पहिले नै रोगका बारेमा जानकारी ज्ञान लिएर त्यसलाई लाग्नै नदिने उपायहरु अपनाउनु बुद्धिमानी हुन्छ।


नियमित व्यायामले शरीरमा इन्सुलिनको कार्य प्रभावकारिता बढाई रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ। त्यस्तै शरीरको तौल नियन्त्रणमा राख्ने र शरीरलाई स्फूर्त राख्ने गर्छ।


मधुमेह रोग एउटा भएपनि शरीरका धॆरै अंगहरुमा यसले असर गर्छ। त्यसैले नियमित रुपमा रगतमा चिनीको मात्रा जाँचेर मात्र यसको असर र अवस्थाका बारेमा थाहा पाउन सकिदैंन। पोष्टरमा भनिएजस्तै नियमित समयमा मृगौला, आँखा, मुटु, खुट्टा आदीको जाँच गरिरहनुपर्छ।


मधुमेहका विरामीहरुमा आपतकालीन दीर्घकालीन गरी दुई थरीका जटिलताहरु देखिनसक्छन्। चिनीको मात्रा अचानक कम हुनु/Hypoglycemia बढि हुनु/Diabetic KetoAcidosis (DKA) or HyperOsmolar Non-Ketotic coma (HONK) ले विरामीको ज्यान पनि जानसक्छ। त्यसैले विरामी र उसका परिवारले यस्ता अवस्थाका लक्षण र त्यस्तो बेलामा गर्नुपर्ने उपचारका बारेमा जानकारी लिइराख्नुपर्छ। कहिलेकाही चिनीको मात्रा कम हुँदा र बढि हुँदाको अवस्थाका लक्षणहरु छुट्टयाउन गाह्रों हुनसक्छ, त्यस्तो बेलामा चिनीको मात्रा कम भएको ठानेर ग्लुकोज पानी वा गुलियो कुरा खानुपर्छ, किनकी चिनी कम हुने अवस्थाले विरामीको ज्यान तुरुन्तै जानसक्छ भने बढि हुने अवस्थामा त्यस्तो स्थिती आउन केही घण्टा वा दिन लाग्नेगर्छ साथै चिनीको मात्रा बढि भैरहेको बेलामा थप केही बढि भएमा खासै फरक पर्दैन तर चिनीको मात्रा कम हुँदा क्षणभरमा ज्यान जानसक्छ।


दीर्घकालीन रोगहरुमा धुम्रपान जस्ता कुलतले समस्या र जटिलताहरुलाई बढाउने छिटो ल्याउने काम गर्छ।


त्यसैले त्यस्ता कुलतहरुलाई चटक्कै छोडेर स्वस्थ जीवन जीउनु नै बुद्धिमानी हुन्छ।

बाँकी पढ्नुहोस् >>

Sunday, November 20, 2011

मधुमेह सम्बन्धी जानकारी

'विश्व मधुमेह दिवस' नोवेम्बर १४ को उपलक्ष्यमा यही मङ्सीर ४ गते भरतपुर अस्पतालको प्रांगणमा 'मधुमेह सम्बन्धी जानकारी मुलक कार्यक्रम' राखिएको थियो। शिक्षण अस्पताल/IOM, काठमाडौंका प्राध्यापक डा. प्रदीप श्रेष्ठको नेतृत्व र भरतपुर अस्पतालका केही मेहेनेती साथीहरुको सहयोगमा गरिएको यो कार्यक्रममा मधुमेह रोगका बारेमा विभिन्न सामान्य तर महत्वपूर्ण जानकारीहरु दिइएको थियो। कार्यक्रममा मधुमेह सम्बन्धी थुप्रै जानकारीमुलक पोष्टरहरु राखिएका थिए। ती पोष्टरहरुलाई म यो ब्लगमा क्रमैसँग प्रकाशित गर्नेछु।


मधुमेह चिनी बढी खानाले वा गुलियो कुरा धेरै खानाले हुन्छ भन्ने भ्रम धेरैलाई छ, जुन सत्य होइन। यो रोग पोस्टरमा भनिए झै इन्सुलिन/Insulin को कमी वा भएको इन्सुलिनले काम गर्न नसकी रगतमा चिनीको मात्रा सामान्य भन्दा बढी भएर लाग्ने गर्छ। 


माथि देखाइएको जस्तै मधुमेह ४ प्रकारको हुन्छ। आजभोलि संसारमा र हाम्रो देशमा पनि महामारीको रुपमा देखिन थालेको चाँही दोस्रो प्रकारको मधुमेह/Type 2 Diabetes हो र अबका जानकारीहरु यही दोस्रो प्रकारको मधुमेह सम्बन्धी हुन्। 


माथि भनिएका १० मध्ये कुनै पनि अवस्था वा समस्या भएको व्यक्तीलाई मधुमेह हुने सम्भावना बढी हुन्छ। र तपाईंमा माथिका कुनै १ भन्दा बढी अवस्थाहरु छन् भने त्यो सम्भावना झन् बढेर जान्छ। जस्तो तपाईंको परिवारमा मधुमेह छैन तर तपाईं मोटो हुनुहुन्छ, तपाईंको शारीरिक कृयाकलाप थोरै छ, तपाईंलाई उच्च रक्तचाप छ भने तपाईंलाई मधुमेह हुने सम्भावना धेरै नै बढी हुन्छ। 

'महिलाको डिम्बाशयमा पानी भएका गोलाहरु धेरै भएमा' भनेर Polycystic ovary syndrome (डिम्बाशयमा पानीका फोकाहरु हुने सिन्ड्रोम) लाई भन्न खोजिएको हो, जसमा पनि मधुमेह हुने सम्भावना बढी हुन्छ। 

क्रमश:
बाँकी पढ्नुहोस् >>

Tuesday, November 15, 2011

औषधीको प्रयोग द्वारा गरिने सुरक्षित गर्भपतन/ Medical Abortion

यस्तो लोगो राखिएको स्वास्थ्य संस्था मा मात्र सुरक्षित गर्भपतन सेवा प्रदान गरिन्छ। 

यस विधिबाट ९ हफ्ता(६३ दिन) भित्रको गर्भलाई सुरक्षित रुपमा गर्भपतन् गर्न सकिन्छ।

यो कसरी गरिन्छ, यो गर्दा के के कुरामा ध्यान पुर्‍याउनुपर्छ, कहाँबाट यो सेवा लिन सकिन्छ, कतिको प्रभावकारी छ आदीबारे केही चित्रहरु मार्फत बुझाउने प्रयास गरेको छु।


तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा सुचिक्रित स्वास्थ्य संस्थामा मात्र यो सेवा दिइन्छ। तर अनुगमन र कारवाहीको कमीको कारणले हाम्रो देशमा यी औषधीहरु सामान्य औषधी पसलहरुमा पनि सजिलै पाईन्छ। उनीहरुले राम्रो तरिकाले सबै कुराको जानकारी दिएर खाने तरिका राम्ररी बाबताइदिए त अलि ठिकै पनि हो तर विना तालिम र साधारण जानकारी हचुवाको भरमा विरामीलाई औषधी दिएर पठाउछन् र पछि कति जटिल समस्या लिएर स्वास्थ्य संस्थामा आइपुग्छन्।


तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा सुचिक्रित स्वास्थ्य संस्थामा महिलाको शारीरिक जाँच गरेर, प्रयोग गरिने औषधीको नराम्रो असर देखिने अवस्था छ, छैन निर्णय गरेर, पाठेघरको आकार छामेर ९ हफ्ता भन्दा कमको हो, होइन निस्चित गरेर मात्रै यो सेवा दिनु र लिनु पर्छ। साथै दोस्रो औषधी घरमा आँफैले नै लिन सकिने भएकोले त्यो कसरी, कुन बेला लिने, त्यसपछी शरीरमा के-के परिवर्तन आउन सक्छन, के भएमा खतरा हो भनी बुझेर स्वास्थ्य संस्था जाने आदी सबै कुराको जानकारी यो सेवा लिने बेलामै दिनुपर्छ, जुन साधारण औषधी पसलमा शायदै दिईन्छ।



गर्भपतनलाई परिवार नियोजनको साधनको विकल्पको रुपमा कदापी लिनु हुँदैन। त्यसैले सकेसम्म गर्भ रहन नदिनको लागि परिवार नियोजनका अस्थायी/ स्थायी साधनहरुको प्रयोग गर्नुपर्छ।

गर्भपतन गरेको १० दिन भित्र तुरुन्तै अर्को गर्भ रहनसक्ने सम्भावना भएकोले गर्भपतन गरिसकेपछी परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्छ।

बाँकी पढ्नुहोस् >>

Friday, May 6, 2011

अन्धकार विरुद्धको लडाईं - मोतिबिन्दु (Cataract) बारे केही जानकारी



केहि दिनपछि लेख्छु भनेको केहि हप्ता र महिना नै हुन लागेछ। त्यसको लागि क्षमा चाहन्छु। कामको व्यस्तता अरु विषयका लेखहरु लेख्ने मन आदि कारणले गर्दा यो शिर्षकको लेखलाई चाँही बिर्सन पुगेछु।

यो चित्र केहि साथीहरुले भन्नुभएको जस्तै मोतिबिन्दु (Cataract) को हो।

मोतिबिन्दु संसारमै र नेपालमा पनि अन्धोपनाको एउटा प्रमुख कारण हो। मोतिबिन्दु भनेको आँखाको लेन्सको पारदर्शितामा कमि आइ हेर्ने क्षमतामा कमि आउने वा पूर्णरुपमा बन्द हुने रोग हो।  

यो रोग कसरी हुन्छ?
यो रोग कसरी हुन्छ भन्ने बुझ्नको लागि हाम्रो आँखाले कसरी काम गर्छ भनेर बुझ्नु जरुरी हुन्छ। कुनै पनि वस्तुबाट परावर्तन भएको प्रकाश (वस्तुमा ठोकिएर फर्किएको प्रकाश) हाम्रो आँखाको कोर्निया (Cornea)- आँखाको सबैभन्दा अगाडीको पारदर्शी तह, बाट छिरेर अर्को पारदर्शी भाग लेन्स हुदैं पछिल्लो भागमा भएको प्रकाश सेन्सिटिभ तह रेटिनामा गएर ठोकिन्छ। उक्त प्रकाशले रेटिनामा रसायनिक प्रक्रिया गराएर त्यहाँका स्नायुहरुलाई उत्तेजित गर्छ र अप्टिक स्नायु (Optic nerve) ले त्यो खबर मष्तिस्कमा लैजान्छ र हामीले त्यो वस्तु देख्छौं।

मोतिबिन्दु रोगमा पारदर्शी हुनुपर्ने लेन्स विभिन्न कारणले गर्दा अपारदर्शी हुनजान्छ, जसले गर्दा रेटिनामा बन्ने आकृति स्पष्ट हुदैन र व्यक्तिको दृष्टि कमजोर हुनजान्छ।  

यो रोग किन हुन्छ?
लेन्स मुख्यरुपमा प्रोटिन र पानी मिलेर बनेको हुन्छ। यसका प्रोटिनहरु निश्चित तरिकाले मिलेर बसेका हुन्छन् र लेन्स पारदर्शी हुन्छ। तर उमेर बढ्दै जाँदा लेन्सका प्रोटिनहरु बस्ने तरिकामा गडबडी आउँछ र लेन्सको पारदर्शीतामा पनि कमि आउँदै जान्छ र मोतिबिन्दु रोग हुन्छ।

बढ्दो उमेरको कारणले हुने मोतिबिन्दुले संसारको अन्धोपनाको करीब आधा भाग ओगट्छ। तर यो अन्य थुप्रै कारणहरुले गर्दा पनि हुने गर्छ। आँखामा कुनै किसिमको चोट लाग्नाले पछि गएर मोतिबिन्दु हुनसक्छ। त्यस्तै मधुमेह (चिनी रोग) का कारणले पनि मोतिबिन्दु हुनसक्छ। कुनै औषधीहरु लामो समयसम्म सेवन गर्नाले पनि मोतिबिन्दु हुनसक्छ। जस्तै- दम, जोर्नीहरु दुख्ने रोगका लागि भनेर खाइने औषधी स्टेरोइड (प्रेडनिसोन/ Prednisone) को लामो सेवनले आँखामा यस्तो समस्या आउन सक्छ। त्यस्तै कसैकसैमा विभिन्न प्रकारका वंशानुगत रोगहरुका कारणले पनि सानै उमेरमा मोतिबिन्दु देखिन सक्छ।

यसका लक्षणहरु के के हुन् र यो रोग कसरी पत्ता लाग्छ?
शुरुको अवस्थामा यसको खासै लक्षण देखिदैंन। पछिपछि हेर्ने क्षमतामा कमि आउने, प्रकाश, बत्तीको वरिपरि गोलो घेरा (Halo) देखिने, धमिलो देखिने, अध्यारोमा हेर्न गाह्रों हुने आदि समस्याहरु देखिने गर्छन्। त्यस्तै कसैमा एउटै वस्तु दुईटा देखिने (Double vision) पनि हुनेगर्छ। चश्मा वा कन्ट्याक्ट लेन्स लगाएर पनि देख्ने क्षमतामा खास सुधार नभएको महसुस हुनसक्छ।

मोतिबिन्दु अन्तिम अवस्थामा वा मच्युर स्टेज (Mature stage) मा हो भने लेन्स पूर्णरुपमा सेतो र अपारदर्शी हुन्छ र बाहिरबाट हेर्दा माथिको चित्रमा जस्तो देखिने गर्छ। तर यदि यो शुरुको अवस्थामा छ भने आँखाको डाक्टरले जाँचेर मात्र रोग पत्ता लाग्ने गर्छ। साथै डाक्टरले स्लिट ल्याम्प (Slit Lamp) बाट आँखाको जाँच गरेर लेन्सको अवस्था विस्तृत रुपमा थाहा पाउने गर्छन्। त्यस्तै देख्ने क्षमता (भिजुअल एक्युटि/ Visual acuity) को परिक्षणमा पनि खराबी देखिन्छ।

मोतिबिन्दु रोग पूर्णरुपमा क्लिनिकल्ली नै पत्ता लाग्छ, यसको लागि कुनै रगत जाँच वा अन्य ल्याव परिक्षण गरिराख्नु जरुरी हुदैंन। यसरी मोतिबिन्दुको परिक्षण गर्दा आँखामा हुनसक्ने अन्य समस्याहरुको पनि जाँच गर्ने गरिन्छ।

यसको उपचार के हो?
यो रोग औषधीले ठिक हुदैंन। यसको उपचार भनेको अप्रेशन गरेर बिग्रेको लेन्स फाल्ने र अर्को लेन्स राख्ने हो। तर मोतिबिन्दु हुने बित्तिकै अप्रेशन गरिहाल्नुपर्छ भन्ने हुदैंन। यसले आफूलाई खास समस्या दिएको छैन भने यसको अप्रेशनलाई पछाडि सार्न सकिन्छ। ढिलो गरेर अप्रेशन गर्दा यो जटिल हुने समस्या यसमा हुदैंन। डाक्टरसँग सल्लाह गरेर कहिले अप्रेशन गर्दा ठिक हुन्छ भनेर निर्णय गर्न सकिन्छ। कहीलेकाही आँखाका अन्य समस्याको राम्रोसँग जाँच गर्नको लागि लेन्स पारदर्शी हुनुपर्छ। जस्तो मधुमेहले आँखाको पर्दा रेटिनामा पार्ने असर (डायवेटिक रेटिनोप्याथी/ Diabetic Retinopathy) को जाँच गर्न आदि। त्यस्तो बेलामा मोतिबिन्दु भएको लेन्सले समस्या दिएमा शुरुकै अवस्थामा पनि अप्रेशन गर्न सकिन्छ।

यसको अप्रेशन अत्यन्त सुरक्षित हुन्छ तर कहीलेकाही संक्रमण, राखिएकॊ लेन्स ठिक ठाँउमा नबस्ने, रेटिना उप्किने (रेटिनल डिट्याचमेन्ट/ Retinal Detachment) आदि जटिलताहरु देखिने गर्छन्।

यसको अप्रेसनलाई सरल भाषामा भन्नुपर्दा यसमा लेन्सको क्याप्सुल/ Capsule (लेन्सलाई ढाकेर राख्ने झिल्ली) मा सानो प्वाल पारेर त्यसबाट पुरानो बिग्रेको लेन्स निकालिन्छ र त्यसको ठाँउमा नयाँ लेन्स राखिन्छ।

यो अप्रेशन गरेपछिको अवस्था कस्तो हुन्छ?
यो अत्यन्तै सानो र छोटो समयमा गरिने भएकोले १-२ दिनभन्दा बढि अस्पताल बसिरहनु पर्दैन। मोतिबिन्दुको अप्रेशनका शिविरहरुमा सयौं अप्रेशनहरु विना जटिलता थोरै समयमै गर्ने गरिन्छ। मोतिबिन्दुले गर्दा मात्रै आँखा नदेख्ने समस्या भएको हो भने यसको अप्रेशनपछि दृष्टि पूर्णरुपमा ठिक हुन्छ। तर कहीलेकाही मोतिविन्दुको साथसाथै अन्य समस्या पनि भएको अवस्थामा यसको नतिजा सोचेजस्तो राम्रो नहुनसक्छ।

अन्त्यमा, 
तिलगंगा आँखा अस्पतालका वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतले मोतिबिन्दुको अप्रेशन गर्ने आफ्नै तरिकाको विकास गर्नुभएको छ, जुन सरल र सस्तो पनि छ। एउटा लेन्सको करिब ५ डलर पर्ने यस्तो अप्रेशनको भने करिब २५ डलर पर्ने गर्छ, जुन विकसित देशहरुमा गरिने अप्रेशनभन्दा २० गुणा कम पर्न जान्छ। उहाँको यो अप्रेशनको तरिकालाई रुइटेक्टोमी (Ruitectomy) पनि भनिन्छ। उहाँले अविकसित र विकासशील देशका डाक्टरहरुलाई यो सरल प्रविधि सिकाउने पनि गर्नुहुन्छ। उहाँ र उहाँको कामको बारेमा अझ थाहा पाउन हेर्नुहोस्-

स्रोतहरु:
बाँकी पढ्नुहोस् >>

Tuesday, March 15, 2011

चित्रमा रोग - १



माथि को चित्र कुन रोग सँग सम्बन्धित छ?
क) मोतिबिन्दु (Cataract)
ख) जलबिन्दु (Glaucoma)
ग) रतन्धो (Nightblindness)
घ) खस्रे रोग (Trachoma)

यो कुन रोग हो अनुमान लगाउनुहोस्। यसको उत्तर म केही दिनपछि दिनेछु।
बाँकी पढ्नुहोस् >>